Logo

२२ फाल्गुन २०८२, शुक्रबार

आज पनि व्यापक वर्षाको सम्भावना, बढी कहाँ?

आज पनि व्यापक वर्षाको सम्भावना, बढी कहाँ?

१९ श्रावण २०८२, सोमबार ००:४५
१९ श्रावण २०८२, सोमबार ००:४५

आज (साउन १९, सोमबार) दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,  आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ।

सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईनजिक रहेकाले देशभर मनसुन सक्रिय छ। यसैकारण मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै बढेको हो। मौसम महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो। यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud