
भैरहवा, २० पुस । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आइतबारदेखि ‘पवन कुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता–२०८२’ सुरु भएको छ । त्रिभुवन आर्मी क्लब ‘ए’ टीम र रुपन्देही–११ बीच प्रतिष्पर्धा हुने गरी टेष्ट, वनडे र टी–२० क्रिकेट आयोजना गरिएको हो । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिष्पर्धा हुन लागेको यो पहिलोपटक गरिएको छ

आइतबार सुरु टेष्टको पहिलो दिन आर्मीले रुपन्देही विरुद्ध १६ रनले अग्रता लिएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको रुपन्देहीले ३३ ओभर १ बल खेल्दै १ सय २२ रनमा अलआउट भयो । उसका लागि आकाश त्रिपाठीले ३७, सन्देश थापाले २०, प्रज्वल थापाले १९ र मिर्नाल गुरुङले १८ रन बनाए । बलिङमा आर्मीका अनिश धामीले १३ ओभरमा ४५ रन खर्चेर ५ विकेट लिए । यस्तै, घनश्याम पाण्डेले ३ र पारस सिंह धामीले २ विकेट लिएका छन्

आर्मीले पहिलो इनिङमा ४४ ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । जसमा प्रदीप पेलाले ४८ र जितेन्द्रसिंह ठकुरीले ४३ रन बनाए । बलिङमा रुपन्देहीका अजय चौहान र विप्रसन केसीले ३–३, सुरज खड्काले २ र देव खनालले १ विकेट लिए । टेष्टको बाँकी खेल सोमबार हुनेछ ।








