Logo

२० फाल्गुन २०८२, बुधबार

  • Uncategorized
  • पाल्ही आधारभूत अस्पताल दुई वर्ष देखि डाक्टर विहीन, अहेबको भरमा सिंगो स्वास्थ्य सेवा

पाल्ही आधारभूत अस्पताल दुई वर्ष देखि डाक्टर विहीन, अहेबको भरमा सिंगो स्वास्थ्य सेवा

पाल्ही आधारभूत अस्पताल दुई वर्ष देखि डाक्टर विहीन, अहेबको भरमा सिंगो स्वास्थ्य सेवा

१८ श्रावण २०८२, आईतवार ११:००
१८ श्रावण २०८२, आईतवार ११:००

रंजीत शर्मा / नवलपरासी/ १० साउन ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको एक मात्र सरकारी अस्पताल पाल्ही आधारभूत अस्पताल डाक्टर विहीन अवस्थामा दुई वर्ष देखि सञ्चालित छ। दुई जना मेडिकल अधिकृतको दरबन्दी कायम भए पनि हालसम्म कुनै पनि डाक्टर नहुँदा अस्पताल अस्तव्यस्त बनेको छ।

सरकारी अस्पताल भए पनि उपचारका लागि आउने बिरामीहरू अहेब (HA) स्वास्थ्यकर्मीको भरमा सामान्य सल्लाह मात्र पाउँदै आएका छन्। आपतकालीन अवस्था, शल्यक्रिया वा सुत्केरी सेवाजस्ता अत्यावश्यक उपचारका लागि बिरामीहरूलाई करिब ७ किलोमिटर टाढा परासी जानुपर्ने बाध्यता छ।अस्पताल भवन चम्किलो, सेवा भने सुनसान रहेको छ ।करोडौंको लागतमा निर्माण गरिएको आधुनिक अस्पताल भवन भौतिक हिसाबले आकर्षक देखिए पनि स्वास्थ्य सेवा भने कागज मै सीमित छ। बिरामी जाँच, औषधि वितरण, आपतकालीन उपचार सबै कार्यहरू डाक्टर नभएका कारण सामान्य सेवा मात्र विस्तार रहेको छ।

विगतमा पालिकाले आफ्नो आन्तरिक बजेटबाट डाक्टर राजकुमार गुप्तालाई करारमा नियुक्त गरेको थियो। तीन वर्ष सम्म सेवा दिएका डा. गुप्ताले थप अध्ययनको लागि राजीनामा दिएपछि हाल सम्म पालिकाले नयाँ नियुक्तिका लागि विज्ञापन समेत खोलेको छैन। उनी गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताका आफ्नै भाई रहेका थिए।डाक्टर राजकुमार गुप्ता हुँदा अस्पतालमा दिनहुँ हजारौंको संख्यामा भारत नेपालका गरी सेवाग्राहीहरु आउने गर्थे तर हाल कुनै पनि डाक्टर नहुँदा अस्पतालमा भने सेवाग्राहीको संख्या न्यून भएको छ।स्थानीय नागरिकहरू भन्छन्, “हामीलाई अस्पतालको नाममा धोका दिइएको छ। डाक्टर नभएपछि अस्पतालको भवनले मात्रै सेवा दिन्न।” गर्भवती महिला, दीर्घरोगी, बृद्धबृद्धा र सुत्केरी महिलाहरूका लागि यो अवस्था अत्यन्तै जोखिमपूर्ण बनेको छ।

पाल्हीनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ताका अनुसार गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश सरकारलाई पटक पटक जानकारी सँगै माग गर्दा पनि हालसम्म कुनै ठोस पहल देखिएको छैन। आधारभूत र जिल्ला अस्पताल लगायतको स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथमिकतामा पर्ने विषय हो, तर पाल्हीनन्दनमा यसको ठीक विपरीत अवस्था देखिएको छ।

आज पृथ्बीचन्द्र अस्पताल परासीको ५० सैया अस्पतालको भवन उद्घाटन गर्न लुम्बिनी प्रदेशका मुख्यमंत्री चेतनारायण आचार्य परासी आएका थिए तर उनी भवन त उदघाटन गरे तर जिल्ला भित्र रहेका यस्ता आधारभूत अस्पतालमा डाक्टरको दरबन्दीमा मुख खोलेन।“स्वास्थ्यमा उपेक्षा होइन, उत्तरदायित्व चाहिन्छ”गाउँ गाउँ सम्म स्वास्थ्य सेवा पुर्‍याउने सरकारी घोषणा पाल्हीनन्दनको उदाहरणले खारेज गरिदिएको छ।

कमिसनको लागि भवन मात्र निर्माण गर्ने प्रवृत्ति बड़े सँगै यस्ता समस्या विगतका दिन जस्तै यथावत रहेको छ ।डाक्टर विहीन अस्पतालले केवल एक गाउँपालिकाको समस्या मात्र होइन, राज्यको नीतिगत कमजोरी र जनतालाई हेर्ने दृष्टिकोणको उदाहरण प्रस्तुत गरेको छ।










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud