भैरहवा, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार प्रज्जवल बोहराले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आइतबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजित समारोहमा उम्मेदवार बोहराले ९ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका थिए।

जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा गरेको आन्दोलनलाई आत्मसात गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा युवाको आवाज संसद्सम्म पुर्याउन आफूलाई जिताउन बोहराले आग्रह गर्नुभयो । उहाँले लघुवित्त र सहकारी पीडितका पक्षमा काम गर्नुपर्ने कुरामा आफू पूर्ण प्रतिबद्ध रहेको जानकारी दिनुभयो । उहाँले सुशासन र भ्रष्टार नियन्त्रण अन्तर्गत सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रणाली, पूर्णरुपमा अधिकारसम्पन्न स्थानीय सरकार, ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शीता, हरेक वर्ग कामको प्रतिवेदन प्रस्तुत र जनताले सोध्ने र आफूले जवाफ दिने कामको सुरुवात गर्ने प्रमुख प्रतिवद्धता रहेको बताउनुभयो ।

त्यस्तै रोजगारी र अर्थतन्त्र अन्तर्गत युवाका लागि स्थानीय रोजगारीको सिर्जना, सीपमूलक तालिम र उद्यमशीलता प्रवद्र्धन, स्थानीय उद्योगमा रोजगारीको व्यवस्था सिर्जना, शिक्षा क्षेत्रमा व्यापाक सुधारका लागि सरकारी विद्यालयको भौतिक संरचनाको निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धि, रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा क्याम्पसमा परिणत, सीप, प्रविधि र व्यवहारिक शिक्षामा जोड दिइने उम्मेदवार बोहराले प्रतिबद्धता जनाउनुभएका थिए








