
भैरहवा, १५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशमा सुरु गरेको च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुर रुपन्देही आइपुगेको थियो । टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो ।

एनपीएल विजेता लुम्बिनी लयान्सलाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ११ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, क्रिकेटप्रेमी, सर्वसाधरण लगायतको उपस्थिति थियो । रुपन्देहीमा ट्रफी टूर गराएसँगै लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट आयोजना समेत गरेको छ । बुटवलस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर (बिआइसिसी) मा साँझ ५ देखि १२ बजेसम्म कन्सर्ट हुँदैछ ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा ट्रफी ल्याएर जीत उत्सव (सेलिब्रेसन) गरिएको हो । ट्रफी टुरको ११ औं दिन सिद्धार्थ क्रिकेट रंगशालामा स्वागत गर्न पाउँदा खुसी लागेको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले एनपिएलको उपाधि विजेता लुम्बिनी लायन्सलाई प्रदेश सरकारले कार्यक्रम गरी ११ लाख रुपैयाँ प्रदान गर्ने बताउनुभयो । उहाँले विजेतालाई आर्थिक रकम प्रदानको घोषणा गर्ने लुम्बिनी पहिलो प्रदेश भएको जानकारी दिनुभयो ।








