
भैरहवा, २७ मंसिर । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ भैरहवा, रुपन्देहीले शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ । साथै संघले वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख (प्रहरी निरीक्षक) मान बहादुर वि.सी.लाई स्वागत तथा सम्मान गरेको छ ।
रक्तदान, जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्माले बताउनुभयो । उहाँले रगतले जात, धर्म, वर्ण, भाषा र संस्कृति केही नहेर्ने बताउनुभयो । रगतले जीवन बचाउने महान काम गर्ने भएकाले रक्तदानको महत्व रहेको उहाँले बताउनुभयो । कहिलेकाही आकस्मिक रुपमा रगतको माग हुँदा रगत दिन सकियो कसैको घरमा उज्यालो आउने आधार बन्ने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख मान बहादुर वि.सी.ले प्रहरीले अपराधको रोकथाम, अनुसन्धान, शान्ति सुरक्षा कायम गर्ने तथा राज्यले दिएको जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । उहाँले सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले कुनै शंकास्पद गतिविधि भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले रक्तदान कार्यक्रम जस्तो पवित्र कार्य आयोजना उहाँको भनाइ छ ।








