
भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–८ बसडिलवामा रहेको हाटी वनगाई खानेपानी उपभोक्ता तथा सरसफाई संस्था (वडा नं. ३, ४ र ५) को प्रथम साधारण सभा तथा प्रथम अधिवेशनबाट गोपाल बन्जाडेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएकाे छ।
साेमबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सरस्वती जि.सी., सचिवमा प्रदीप कुमार गुरुङ, कोषाध्यक्षमा दिपक रेग्मी तथा सह–सचिवमा नरहरि सुवेदी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा बिक्रम सुनार, बिष्णु जि.सी., गँगा जि.सी., प्रशान्त कुँवर, ज्ञानेश्वर चौधरी, तारा प्रसाद जैसी र दिपक देवकोटा चयन भएका छन्।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष संकर प्रसाद ज्ञवाली ले प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी आयोजनाका चुनौतीबारे जानकारी गराए। उनले उपभोक्ताहरू पानी अभावका कारण संस्था समक्ष आउन नपरेको अवस्था उल्लेख गर्दै खानेपानी ट्याङ्की निर्माणमा टेन्डर प्रक्रिया भए पनि ट्याङ्की निर्माण कार्य ५–७ वर्षसम्म अल्झिँदा समस्या जटिल बनेको बताए। लामो समयसम्म आयोजना अघि नबढ्दा करिब १३ किलोमिटर पाइपलाइन ध्वस्त भएको उल्लेख गर्दै उनले अहिले निर्माण सम्पन्न भइसकेकाले सबै उपभोक्तालाई नियमित रूपमा खानेपानी प्रयोग गर्न आग्रह गरे।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव जगन्नाथ न्यौपानेले गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।








