Logo

२० फाल्गुन २०८२, बुधबार

  • ताजा समाचार
  • ७८ लाख घुस ‘डिल’को अडियो तत्कालीन मन्त्री गुप्ताकै भएको पुष्टि

७८ लाख घुस ‘डिल’को अडियो तत्कालीन मन्त्री गुप्ताकै भएको पुष्टि

७८ लाख घुस ‘डिल’को अडियो तत्कालीन मन्त्री गुप्ताकै भएको पुष्टि

१० भाद्र २०८२, मंगलवार ०४:१५
१० भाद्र २०८२, मंगलवार ०४:१५

काठमाडौं / १० भाद्र। ७८ लाख घुस ‘डिल’ अडियो प्रकरणमा राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि मुद्दा चलाउने प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुटाएको छ ।

सार्वजनिक भएको घुस डिलसम्बन्धी अडियो उनकै भएको पुष्टि भएपछि आयोगले उनीमाथि छानबिन तीव्र पारेको छ । सो अडियोकै आधारमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न पर्याप्त प्रमाण पुग्ने भएपछि आयोगले उनलाई बयानमा बोलाएको छ ।

सार्वजनिक भएको अडियो पूर्वमत्री गुप्ताकै हो वा होइन भनेर आयोगले उनको स्वर परीक्षण (भ्वाइस टेस्ट) गराएको थियो । ल्याबबाट सो आवाज उनकै भएको रिपोर्ट आएको स्रोत बताउँछ । त्यसकै आधारमा आयोगले सो प्रकरणमा संलग्न सबैमाथि विस्तृत अनुसन्धान तीव्र पारेको हो । यसमा घुस लेनदेनको प्रमाण नभेटिए पनि लिने–दिने मनसाय प्रस्ट देखिएकाले त्यो भ्रष्टाचार निवारण ऐनअनुसार आकर्षित हुने स्रोत बताउँछ ।

यो घटनाको केन्द्रमा भने बहालवाला भूमि व्यवस्थामन्त्री बलराम अधिकारी छन् । पैसा खाएर पनि अधिकारीले काम नगरिदिएको गुनासो सो अडियोमा गुप्ताले गरेका छन् ।

अधिकारीकै मन्त्रालयअन्तर्गत कास्की मालपोतमा कर्मचारी सरुवा, लिचिबारी जग्गाको स्वामित्व विवादको निरूपण तथा भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी विषयमा त्यसरी घुस डिल भएको थियो ।बिचौलिया सुजन लामाले मन्त्री अधिकारीका छोरा र तत्कालीन भूमि व्यवस्थासचिव अर्जुन पोखरेललाई समेत आफूले सहयोग गरेको भनेर बोलेको अडियोसमेत बाहिर आइसकेको छ ।

सो विषयमा पनि आयोगले छानबिन गरिरहेको छ ।गुप्ताले कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि २५ लाख र कास्की मालपोतका प्रमुख थमौती/सरुवाका लागि ५३ लाख गरेर ७८ लाख रुपैयाँको डिल गरेका छन्  । यही डिल सार्वजनिक भएपछि आलोचनाका बिच गुप्ताले गत ३१ असारमा पदबाट राजीनामा दिएका थिए ।गुप्ताको अडियोसहितको उजुरी गत १० असारमै दर्ता भएपछि अख्तियारले अनुसन्धान अधिकृत नै तोकेरै छानबिन गरिरहेको छ ।

घुस प्रकरणसँग जोडिएको पोखराको लिचिघारीको जग्गाबारे विवरणसमेत अख्तियारले मगाएको छ । अख्तियारले कास्की मालपोतलाई पत्र काटेर जग्गासम्बन्धी कागजात र जग्गाको अवस्थालगायतका विवरण मागेको छ ।

यो प्रकरणको केन्द्रमा रहेका भूमि व्यवस्थामन्त्री अधिकारी भने अझै पदमै छन् । उनीमाथिको मुद्दा बिचौलिया लामाको बयानका आधारमा भर पर्ने स्रोत बताउँछ ।

यसमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत आयोगको छानबिनमा छिन् । उनी सँग पनि आयोगले सोधपुछ गरिरहेको छ । श्रोत- नयाँ पत्रिका










  • सम्बन्धित समाचार

                  © 2026 All right reserved to lumbiniexpress24.com  | Site By : Gyaneshwor Gaud