Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन भदौ १४ गते भैरहवामा हुने

राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन भदौ १४ गते भैरहवामा हुने

राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन भदौ १४ गते भैरहवामा हुने

२८ श्रावण २०८३, बिहीबार १०:४२
२८ श्रावण २०८३, बिहीबार १०:४२

भैरहवा, २७ साउन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको जिल्ला अधिवेशन आगामी भदौ १४ गते भैरहवामा आयोजना हुने भएको छ।

मङ्गलबार रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं जिल्ला पर्यवेक्षक ध्रुव रायमाझीको विशेष उपस्थितिमा सिद्धार्थनगर नगरपालिका–३ स्थित पार्टी कार्यालयमा बसेको नियमित बैठकले सो निर्णय गरेको हो।

बैठकमा राप्रपाको आगामी केन्द्रीय महाधिवेशन, प्रदेश अधिवेशन तथा जिल्ला अधिवेशनको तयारी र कार्ययोजनाबारे विस्तृत छलफल भएको पार्टीका नेता अजय कुमार गुप्ताले जानकारी दिनुभयो। बैठकले आगामी जिल्ला अधिवेशनलाई भव्य रूपमा सफल पार्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई शारीरिक, मानसिक र आर्थिक (तन, मन, धन) रूपमा पूर्ण सक्रिय रहन निर्देशन दिएको छ।

नेता गुप्ताका अनुसार बैठकले केन्द्रीय तथा प्रदेश अधिवेशनका लागि आवश्यक सक्रिय सदस्यता फाराम तोकिएको समयभित्रै अनलाइनमार्फत समेत भरेर बुझाउनुपर्ने निर्णय गरेको छ। यसैगरी, अहिलेसम्म अधिवेशन हुन नसकेका वडा, पालिका तथा क्षेत्रहरूको अधिवेशन आगामी साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पन्न गरी जिल्ला निर्वाचन समितिलाई विवरण बुझाउन ताकेता गरिएको छ।

पार्टी सङ्गठन सुदृढीकरणका लागि पूर्वकार्यकर्ता तथा निष्कृय रहेका शुभेच्छुकहरूलाई पुनः पार्टी गतिविधिमा जोड्न ‘पार्टी फर्क’ अभियान सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यसैबिच, तिलोत्तमा वडा नम्बर ७ स्थित करहिया दल्का खानेपानी उपभोक्ता समितिमा निर्वाचित राप्रपाका अगुवाहरू खुम बहादुर राना, विनोद अर्याल र हरि प्रसाद अर्याललाई बैठकमा टीका, खादा र माला लगाएर विशेष बधाई एवं स्वागत ज्ञापन गरिएको छ। उहाँहरूलाई आगामी दिनमा पार्टी हित र जनसेवामा थप सक्रिय रहन आग्रह गरिएको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud