२९ साउन आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले व्यावसायिक कारोबार व्यक्तिगत बैंक खाताबाट नगर्न र नगराउन व्यवसायीहरूलाई आग्रह गरेको छ।
वस्तु वा सेवा बिक्रीपछि हुने सम्पूर्ण आर्थिक कारोबार अनिवार्य रूपमा व्यवसायिक खातामार्फत नै सञ्चालन गर्नुपर्ने राजस्व कार्यालयले स्पष्ट पारेको हो । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन) द्वारा बिहीवार भैरहवामा आयोजित ‘कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले व्यक्तिगत कारोबार व्यवसायिक खाताबाट र व्यवसायिक कारोबार व्यक्तिगत खाताबाट गरेमा २ प्रतिशत जरिवाना गरिने चेतावनी दिनुभयो। “आयकर ऐनमै यस सम्बन्धी प्रष्ट कानुनी व्यवस्था भइसकेको छ। व्यवसायिक आम्दानी अनिवार्य रूपमा व्यावसायिक खातामै लिनुपर्छ, व्यक्तिगत खातामा राख्न पाइँदैन,” प्रमुख कर अधिकृत पोख्रेलले भन्नुभयो, “व्यक्तिगत प्रयोजनका लागि पनि व्यावसायिक खाताको प्रयोग गर्नु कानुनविपरीत हो।”

उहाँले वस्तु वा सेवा प्रदान गरिसकेपछि ग्राहकलाई अनिवार्य रूपमा बिलबिजक जारी गर्न आग्रह गर्नुभयो। “ग्राहकले बिल नलिए पनि व्यवसायीले बिल काट्नै पर्छ। आज नलिए पनि भोलि ग्राहक बिल खोज्दै आउन सक्छन्। बिल नदिएको पाइएमा कानुनबमोजिम जरिवाना गरिनेछ,” उहाँले प्रष्ट पार्नुभयो। साथै सरकारले दिएका छुट तथा सुविधाको अधिकतम सदुपयोग गर्न पनि उहाँले करदाताहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले करसम्बन्धी कानुनी ज्ञान र चेतनाको अभावमा व्यवसायीहरू अनाहकमा समस्यामा पर्ने गरेकाले संगठनले प्रत्येक वर्ष नियमित रूपमा कर शिक्षा कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरू राजकुमार गुप्ता, हरि पाण्डे, पूर्णवासी गुप्ता, सन्तोष शुक्ला, पवि खनाल, पशुपति कान्दु, यादव प्रसाद आचार्य, राजेश महोत्रा, झबिन्द्र बेल्बासे, सिकन्दर अली लगायतले कर प्रणाली, बिलिङ र कानुनी प्रक्रियाबारे आफ्ना जिज्ञासा राख्नुभएको थियो।आन्तरिक राजस्व कार्यालय भैरहवा, रुपन्देहीले व्यावसायिक कारोबार व्यक्तिगत बैंक खाताबाट नगर्न र नगराउन व्यवसायीहरूलाई आग्रह गरेको छ।

अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरू राजकुमार गुप्ता, हरि पाण्डे, पूर्णवासी गुप्ता, सन्तोष शुक्ला, पवि खनाल, पशुपति कान्दु, यादव प्रसाद आचार्य, राजेश महोत्रा, झबिन्द्र बेल्बासे, सिकन्दर अली लगायतले कर प्रणाली, बिलिङ र कानुनी प्रक्रियाबारे आफ्ना जिज्ञासा राख्नुभएको थियो।








