भैरहवा, ७ भदौ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्ती (मोहम्मद जयन्ती) को पावन अवसर पारेर रुपन्देहीको भैरहवामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटी सिद्धार्थनगर–६, रुपन्देहीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोगमा शनिबार गल्लामण्डीस्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका छन्।

कार्यक्रमको औपचारिक उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले मानवीय सेवाका लागि सकारात्मक सोचका साथ रक्तदानमा अग्रसर हुनुपर्ने बताउनुभयो। उहाँले समाजमा यस्ता रचनात्मक तथा परोपकारी कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आयोजकलाई आग्रह गर्नुभयो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले रक्तदान मानव जीवन रक्षाका लागि अत्यन्त पुण्य कार्य भएको उल्लेख गर्दै आयोजक कमिटीको सामाजिक योगदानको प्रशंसा गर्नुभयो।

अहले सुन्नत व जमाअत अन्जुमन इस्लामिया कमिटीका अध्यक्ष इस्तेहाक अहमद मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अफजल हुसैनले रक्तदाता, अतिथि तथा प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
इस्लाम धर्मावलम्बीहरूले आगामी भदौ १० गते हजरत मोहम्मद पैगम्बरको जन्मजयन्ती हर्षोल्लासका साथ मनाउँदैछन्।








