भैरहवा — निजामती सेवा दिवसको अवसरलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी कर्मचारी मिलन केन्द्र रुपन्देहीले रसुवाका बाढीपीडित नागरिकको सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराएको छ। केन्द्रले बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो।
कर्मचारी मिलन केन्द्रका संरक्षक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको केन्द्रका अध्यक्ष प्रेम पोख्रेलले जानकारी दिनुभयो।
अध्यक्ष पोख्रेलका अनुसार निजामती सेवा दिवसको सन्दर्भ पारेर केन्द्रमा आबद्ध कर्मचारीहरूको सहभागिता र स्वेच्छिक सहयोगबाट उक्त रकम संकलन गरिएको थियो। बाढीका कारण प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा राज्यका संयन्त्रलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको उहाँले बताउनुभयो।
प्राकृतिक विपत्तिको यस घडीमा प्रभावित नागरिकलाई मानवीय राहत तथा सहयोग जुटाउनु सबैको साझा दायित्व भएको स्मरण गराउँदै कर्मचारी मिलन केन्द्रले निजामती सेवा दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाएको स्पष्ट पारेको छ।








