भैरहवा, ५ असोज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख, प्रहरी निरीक्षक प्रतिमा कार्की २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ (बेस्ट ट्राफिक पुलिस अफ द मन्थ) घोषित हुनुभएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले सांगठनिक नीति, निर्देशन तथा प्रचलित कार्यविधिबमोजिम प्रदान गरिएको पेशागत जिम्मेवारीलाई उच्च व्यवसायिकता, कर्तव्यनिष्ठा र उत्तरदायित्वका साथ निर्वाह गरेको मूल्यांकन गर्दै कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।
कार्यालयका अनुसार प्रहरी निरीक्षक कार्कीले रुपन्देही जिल्लामा सवारी दुर्घटनाको तथ्यांक विश्लेषणका आधारमा ७ वटा उच्च दुर्घटना जोखिम क्षेत्र पहिचान गरी ती क्षेत्रमा चेतावनी संकेत बोर्ड जडान गर्नुभएको छ। त्यस्तै, बुटवल–भैरहवा सडकखण्डमा दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरी दुईवटा उच्च जोखिम क्षेत्रमा स्पिड ब्रेकर (रम्बल स्ट्रिप), स्पष्ट देखिने सडक चिन्ह तथा रोड मार्किङ, जेब्रा क्रसिङ र पैदलयात्री मार्ग निर्माण तथा मर्मत सम्भार गराइएको छ।

ट्राफिक व्यवस्थापन सुधारका क्रममा सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरी कार्यालय अगाडिको सार्वजनिक जग्गाको भोगाधिकार प्राप्त गरेर व्यवस्थित र सुरक्षित पार्किङस्थल निर्माण गरिएको छ। साथै, विभिन्न मितिमा बेवारिसे फेला परेका एउटा चारपाङ्ग्रेसहित १२ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी भैरहवा भन्सार कार्यालय बुझाउने कार्यसमेत गरिएको छ।
यसैगरी, सडक सुरक्षालाई दृष्टिगत गर्दै क्षमताभन्दा बढी भार वहन गरेका १ हजार १ सय ९८ वटा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ। स्थानीय तहहरूसँग समन्वय गरी टीभीआरएस (TVRS) प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टरलगायतका उपकरण जुटाई मातहतका ५ वटा पोष्टबाट सेवा विस्तार गर्ने कार्यमा समेत उहाँको महत्त्वपूर्ण योगदान रहेको छ।
उहाँको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) निशान थापाले सोमबार कार्कीलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गर्नुभएको हो।








