भैरहवा—
बडादशैंको पावन अवसरलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना हुने भएको छ। चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा नवदुर्गा प्रारम्भ हुने घटस्थापनाको पूर्वसन्ध्या पारेर आगामी असोज २४ र २५ गते उक्त महोत्सव सञ्चालन हुन लागेको हो।
सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारीअनुसार, महोत्सव भैरहवाको मुख्य व्यापारिक खण्ड बसपार्कदेखि देवकोटा चोकसम्म खुला सडकमा भव्य रूपमा सञ्चालन गरिनेछ। दुवै दिन साँझ ५:०० बजेदेखि मध्यरात १२:०० बजेसम्म सञ्चालन हुने महोत्सवमा करिब १०० वटा विविध खाद्य तथा व्यावसायिक स्टलहरू रहनेछन्। आयोजकले यस महोत्सवमा ५० हजारभन्दा बढी दर्शक तथा उपभोक्ताहरूको प्रत्यक्ष सहभागिता रहने प्रक्षेपण गरेको छ।

महोत्सवमा पाँचतारे तथा स्तरीय होटलका विशेष मेनुदेखि नेपालका विभिन्न जातजाति, भाषाभाषी र समुदायका मौलिक एवं परम्परागत परिकारहरू उपलब्ध हुनेछन्। स्थानीय रैथाने स्वादसँगै थारु, मधेशी, मगर, नेवारलगायत विभिन्न समुदायका विशिष्ट खाद्य संस्कृतिको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख आकर्षण रहनेछ।
खानाका विविध स्वादसँगै सांस्कृतिक प्रस्तुतिले महोत्सवलाई थप उल्लासमय बनाउनेछ। चर्चित गायक दुर्गेश थापा, ख्यातिप्राप्त भोजपुरी कलाकार प्रीति पासवान तथा रुपन्देहीका स्थानीय प्रतिभाशाली कलाकारहरूको बेजोड सांगीतिक एवं सांस्कृतिक प्रस्तुतिले महोत्सवको मञ्च तताउने जानकारी पत्रकार सम्मेलनमा दिइयो।
नेपाल–भारत सीमा जोडिएको बेलहिया नाका, शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको त्रिवेणीमा अवस्थित सिद्धार्थनगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख प्रवेशद्वारका रूपमा स्थापित गर्नु महोत्सवको मूल ध्येय रहेको छ। विशेषगरी बेलहिया नाका हुँदै भित्रिने भारतीय तथा विदेशी पर्यटकलाई सिद्धार्थनगरमै आकर्षित गरी उनीहरूको बसाइ अवधि र स्थानीय खर्च वृद्धि गर्ने लक्ष्य आयोजकको छ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोकाले स्थानीय उत्पादक, किसान, खाद्य व्यवसायी, महिला तथा युवा उद्यमीलाई प्रत्यक्ष बजारसँग जोड्ने, सुस्ताएको होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो।
त्यस्तै, कार्यक्रम संयोजक बिनोद खरेलले स्थानीय मौलिक खाना, जातीय परिकार तथा कला–संस्कृतिलाई प्राथमिकता दिँदै भारतीय पर्यटकलाई सिद्धार्थनगरमा आकर्षित गर्ने योजना रहेको जानकारी दिनुभयो। चेम्बरका वरिष्ठ उपाध्यक्ष राममिलन यादवले सडक खाना महोत्सवमार्फत नगरको आर्थिक गतिविधिलाई गतिशील बनाइने बताउनुभयो भने पूर्व अध्यक्ष दर्पण श्रेष्ठले लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर सिद्धार्थनगरलाई पर्यटन, सेवा, खाना र आतिथ्यको प्रवेशद्वारका रूपमा विकास गर्ने दीर्घकालीन सोच रहेको उल्लेख गर्नुभयो।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले आर्थिक नगरको रूपमा परिचित सिद्धार्थनगर भारतसँगको निकटतामा रहेकाले सीमावर्ती भारतीय नागरिकलाई आकर्षित गर्न विशेष पहल र स्थानीय व्यवसाय प्रवर्द्धनमा जोड दिनुपर्ने सुझाव दिनुभयो।








