भैरहवा (रुपन्देही), ३० असोज ।
नेपाली काँग्रेसलाई आन्तरिक गुट–उपगुटको दलदलबाट मुक्त गरी एकढिक्का बनाउनुपर्नेमा पार्टीका शीर्ष एवं स्थानीय नेताहरूले विशेष जोड दिएका छन्। बदलिँदो राजनीतिक परिवेश र नागरिकका तीव्र आकांक्षाहरूलाई सम्बोधन गर्न पार्टीको कार्यशैलीमा आमूल रूपान्तरण र युवा पुस्ताको सक्रिय नेतृत्व अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।
काँग्रेस नगर समिति, सिद्धार्थनगर (रुपन्देही) द्वारा विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठपर्वको पावन अवसरमा शुक्रबार भैरहवामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेताहरूले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा नेताहरूले पार्टी संगठनलाई जगैदेखि सुदृढ बनाउँदै आम नागरिक तथा कार्यकर्ताको मनोबल उकास्न तत्काल आन्तरिक एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका प्रमुख वक्ता, काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै जनताको सुखदुःखसँग जोड्नुपर्ने बताए।
“काँग्रेसलाई अब परम्परागत ढर्राबाट होइन, समयको गतिसँगै रूपान्तरित काँग्रेसको रूपमा अगाडि बढाउनुपर्छ,” खाणले भने, “युवा नेतृत्वको ऊर्जा र विचारले मात्र यो पार्टीलाई सही गन्तव्यमा पुर्याउन सक्छ।” उनले पार्टीभित्रको आन्तरिक विभेद र गुटबन्दी अन्त्य नभएसम्म नागरिकको मनोबल उकास्न नसकिने प्रष्ट पारे।
त्यस्तै, नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुशील गुरुङले पार्टीभित्र निष्ठा, अनुशासन र एकता कायम भए मात्रै नागरिकको पूर्ण विश्वास आर्जन गर्न सकिने उल्लेख गरे।

संगठनलाई प्रभावकारी र जनतामैत्री बनाउने पहिलो सर्त नेता तथा कार्यकर्ताबीचको आपसी समझदारी र सहकार्य हो,” गुरुङले थपे, “व्यक्तिगत स्वार्थ र गुटभन्दा माथि उठेर पार्टीको झण्डामुनि गोलबद्ध हुनु अहिलेको प्राथमिक कार्यभार हो।”
कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, क्षेत्र नम्बर ३ का सभापति पुरनप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ३ (क) का सभापति महेन्द्रकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका सभापति ज्योति भण्डारी, तिलोत्तमा नगर सभापति नारायण ढकाल तथा लुम्बिनी प्रदेश सभा सदस्य देवीप्रसाद चौधरीले सम्बोधन गर्दै स्थानीय तहदेखि नै पार्टी संगठनलाई जनसेवामा केन्द्रित गर्नुपर्ने विचार व्यक्त गरे। यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र सिद्धार्थनगर–७ का वडा सभापति अभिषेक रावलले बदलिँदो परिवेशमा काँग्रेसले आफ्ना कमजोरी सच्याउँदै नागरिकको घरदैलोमा पुग्नुपर्नेमा जोड दिए।
राजनीतिक नेतृत्वसँगै कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले समेत मुलुकको अर्थतन्त्र र राजनीतिक स्थिरताका विषयमा खबरदारी गरे। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बोल्दै देशमा बढ्दो युवा पलायन र औद्योगिक शिथिलता अन्त्यका लागि काँग्रेसजस्तो जिम्मेवार दलले आर्थिक सुधारको ठोस नीति लिनुपर्ने सुझाव दिए। उद्योगी–व्यवसायीका मर्म बुझेर राजनीतिक दलहरूले सहकार्यको वातावरण बनाउनुपर्ने उनीहरूको माग थियो।
काँग्रेस सिद्धार्थनगर नगर समितिका सभापति देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति निलु श्रीसले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सचिव धर्मवीर शर्माले गरेका थिए। शुभकामना साटासाटका रूपमा आयोजना गरिएको भए तापनि कार्यक्रम मूलतः पार्टी एकता, सांगठनिक पुनर्जागरण र नीतिगत रूपान्तरणको राजनीतिक मन्थनमा परिणत भएको थियो।








