भैरहवा, १ । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति मतदाताको आकर्षण दिनप्रतिदिन बढ्दै उम्मेदवारले बताएका छन् । रुपन्देही–३ बाट प्रत्यक्षतर्फका उम्मेदवार क्याप्टेन गौरव बोहरा, समानुपातिक उम्मेदवारहरु स्वाती थापासहित पार्टीका नेता तथा कार्यकर्ताहरुले गरेको घरदैलोमा मतदाताले उत्साह देखाएको राप्रपाले जनाएको छ ।

पछिल्ला दिनमा भइरहेको घरदैलो अभियानले चुनावी माहोल तताउँदै लगेको छ भने मतदाता राप्रपालाई मतदान गर्न आतुर रहेको राप्रपाको दावी छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार क्याप्टेन गौरव बोहरा यतिबेला रुपन्देही क्षेत्र नम्बर ३ अन्तर्गत विभिन्न टोल बस्तीमा पुगेर मतदाताको समस्या बुझिरहेका छन् ।

घरदैलोका क्रममा मतदाताले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार र सुशासनका विषयमा ध्यान दिन उम्मेदवार बोहरालाई सुझाव दिएका छन् ।
उद्घाटन भइसकेको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ ।
उम्मेदवार बोहराले आफू यो क्षेत्रको विकासका लागि कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।








