दाङ, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमाथि अनावश्यक हस्तक्षेप गर्न खोजेको भन्दै संविधानले दिएको अधिकार भन्दा बाहिर गएर निर्देशन जारी नगर्न आग्रह गर्नुभएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाको ३४ औं स्थापना दिवसको तुलसीपुरमा सोमवार भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकार संविधानअनुसार स्वायत्त भएको स्पष्ट पार्नुभयो । उहाँले संघीय सरकारले दिशानिर्देशन दिन सक्ने भए पनि ठाडो निर्देशन दिन नमिल्ने बताउनुभयो
संविधानले निर्दिष्ट गरेका हकअधिकार कार्यान्वयनका लागि संघीय सरकारसँग समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गरेर अघि बढ्न हामी तयार छौं । तर, त्यसभन्दा बाहिर गएर निर्देशन दिने कार्य उपयुक्त हुँदैन,’ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले भदौपछि विभिन्न खालका निर्देशन आउने क्रम बढेको उल्लेख गर्दै त्यसप्रति संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले संघीय सरकारले सञ्चार क्षेत्रप्रति गरेको व्यवहारप्रति पनि प्रदेश सरकार गम्भीर रहेको बताउँदै त्यस्ता निर्णय अविलम्ब सच्याउन माग गर्नुभयो ।
उहाँले तीनै तहका सरकार योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । समाजलाई सुमार्गतर्फ लैजानुपर्नेमा उल्टै कुमार्गतर्फ लैजान खोजिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘यदी समयमै सचेत हुन सकिएन भने भविष्यमा मुलुकले दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउन सक्छ,’उहाँले चेतावनी भन्नुभयो
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रमुख तथा नगरबासीको सहभागीता थियो ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य कमल सुवेदी, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्थाका प्रमुख तथा नगरबासीको सहभागीता थियो ।








