भैरहवा, २२ साउन । रुपन्देहीको रोहिणी गाउँपालिका ५ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । शुक्रबार रोहिणी–५ मा आयोजित समारोहमा २७१ थान लालपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।
समारोहमा स्थानीयलाई संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीलगायतले लालपूर्जा वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै मन्त्री लम्सालले भूमिहिन तथा अव्यवस्थित बसोबासीका समस्याहरु यसै वर्ष समाधान गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो । उहाँले यो समस्या छिटो सम्बोधन गरिने बताउनुभयो । समस्या समाधान गर्न प्रत्येक पालिकाको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई प्रमुख जिल्ला अधिकारी र नापी कार्यालयसँग सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले जनताको हरेक समस्या समाधान गर्न सरकार अघि बढेको बताउनुभयो ।








