रेडियोलोजी विभागको रजत जयन्तीको अवसरमा अत्याधुनिक सेवा थपियो
भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) शिक्षण अस्पताल, भैरहवाले रेडियोलोजी विभागको रजत जयन्तीको अवसरमा १२८ स्लाइस सिटी स्क्यान सेवा तथा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले बिरामीलाई गुणस्तरीय, आधुनिक र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ प्रविधिको सिटी स्क्यानबाट कम समयमा उच्च गुणस्तरको रिपोर्ट प्राप्त हुनुका साथै विभिन्न रोगको आधुनिक तथा प्रभावकारी निदान गर्न सहज हुने अस्पतालको सूचना अधिकारी सुशिल गुरुङले बताउनुभयो

अस्पतालका अनुसार नयाँ सिटी स्क्यान मेसिनमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), अटो पोजिसनिङ तथा मुटुको थ्रीडी क्यामेरासहितको स्क्यान सुविधा समेत उपलब्ध छ। यसबाट बिरामीले थप सहज र भरपर्दो रूपमा स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।
यूसीएमएसले उक्त अत्याधुनिक सिटी स्क्यान सेवा सञ्चालनका लागि करिब ४ करोड ५० लाख रुपैयाँ लगानी गरेको जनाएको छ। सेवा २४सै घण्टा उपलब्ध हुने र बिरामीलाई सहज तथा सुलभ दरमा सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।
यसै अवसरमा अस्पतालले २४सै घण्टा एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको छ। बिरामीलाई अस्पतालसम्म ल्याउन तथा अस्पतालबाट अन्यत्र लैजान सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको प्रमुख कार्यकारी अधिकृत अजय कुमार पीएसले बताए

अस्पतालका अनुसार विभागले स्थापनादेखि हालसम्म ठूलो संख्यामा बिरामीलाई विभिन्न प्रकारका रेडियोलोजीसम्बन्धी सेवा प्रदान गरिसकेको छ।
यूसीएमएसले स्वास्थ्य सेवासँगै दक्ष जनशक्ति उत्पादनमा समेत योगदान गर्दै आएको जनाएको छ। रेडियोलोजीसम्बन्धी स्नातकोत्तर तथा स्नातक तहका विद्यार्थीलाई अध्ययन तथा प्रशिक्षण प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।
अत्याधुनिक उपकरण र थप सेवा विस्तारसँगै लुम्बिनी प्रदेश तथा आसपासका बिरामीलाई भैरहवामै गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहज हुने अपेक्षा गरिएको मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्याल जानकारी दिए

लुम्बिनी प्रेस क्लवका अध्यक्ष कमल रायमाझीले भैरहवा क्षेत्रमा पछिल्लो समयमा निजी क्षेत्रबाट विभिन्न अस्पताल खोल्ने क्रम बढेपनि बिशिष्टकृत उपचार सेवाकालागि मेडिकल कलेज नै रहेको जनाउँदै यतिधेरै अत्याधुनिक उपकरण सहितको यो अस्पतालले सिमावर्ती भारतीय बिरामीलाई समेत आकर्षित गर्नु पर्ने बताए ।








