Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • कालिदह नाकाको मुहार फेरिँदै : चारलेन सडक र पर्यटकीय हब बनाउने सांसद बनियाको घोषणा

कालिदह नाकाको मुहार फेरिँदै : चारलेन सडक र पर्यटकीय हब बनाउने सांसद बनियाको घोषणा

कालिदह नाकाको मुहार फेरिँदै : चारलेन सडक र पर्यटकीय हब बनाउने सांसद बनियाको घोषणा

१ भाद्र २०८३, सोमबार १९:०२
१ भाद्र २०८३, सोमबार १९:०२

भैरहवा, ३१ साउन । भारतसँग सीमा जोडिएको ऐतिहासिक कालिदह नाकालाई स्वच्छ, व्यवस्थित र नमुना पर्यटकीय प्रवेशद्वारका रूपमा विकास गर्ने बृहत् योजना अघि बढाइएको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले कालिदहलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जोड्ने प्रमुख आकर्षक नाकाका रूपमा रूपान्तरण गर्न लागिएको जानकारी दिनुभएको हो।

सांसद बनियाको प्रत्यक्ष नेतृत्वमा शनिबार कालिदह सीमा क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। लामो समयदेखि ओझेलमा परेको यस ऐतिहासिक तथा धार्मिक महत्त्वको नाकालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न वातावरणीय स्वच्छतासँगै आधुनिक भौतिक पूर्वाधार निर्माणको कार्ययोजना तयार पारिएको छ।

सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बनियाले भैरहवास्थित बेलहिया नाकाको स्तरमै कालिदहलाई पनि वातावरणमैत्री चारलेन सडक, व्यवस्थित भूमिगत ढल निकास, आकर्षक हरियाली तथा वृक्षरोपणसहित स्तरोन्नति गरिने बताउनुभयो। उहाँले आवश्यक प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेकाले चाँडै सडक निर्माणको टेण्डर आह्वान हुने स्पष्ट पार्नुभयो।

‘कालिदह नाकाको पूर्वाधार विकासका लागि मैले संसदमा निरन्तर आवाज उठाउँदै सम्माननीय प्रधानमन्त्रीसमक्ष समेत विस्तृत ज्ञापनपत्र बुझाइसकेको छु,’ सांसद बनियाले भन्नुभयो, ‘कालिदह–लुम्बिनी–सालझण्डी जोड्ने चारलेन सडक बनेपछि भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरू बिना कुनै झन्झट छोटो र रमणीय बाटो हुँदै लुम्बिनी पुग्न सक्नेछन्।’

कालिदहलाई केवल आवतजावत गर्ने सीमा विन्दुमा मात्र सीमित नराखी नेपाल भित्रिने पर्यटकको ‘पहिलो न्यानो स्वागतस्थल’ बनाउनुपर्नेमा उहाँको जोड छ। विश्वभरका बौद्ध धर्मावलम्बी र पर्यटकलाई आकर्षित गर्न नाकालाई सफा र सौन्दर्यमय बनाउन स्थानीय व्यापारी, नागरिक समाज र सर्वसाधारणलाई घर–पसलअगाडि अनिवार्य वृक्षरोपण गरी सरसफाइमा जुट्न उहाँले अपिल गर्नुभयो।

सडक विस्तार, नाला व्यवस्थापन र आधुनिक पूर्वाधार निर्माणसँगै यस क्षेत्रमा व्यापारिक तथा पर्यटकीय चहलपहल बढ्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र रुपन्देहीको दक्षिणी भेगको समग्र अर्थतन्त्र चलायमान हुने विश्वास लिइएको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud