भैरहवा, ३ भदौ । पहिलो चरणको सुपर परियोजनाले सैनामैनामा प्रभावकारी काम गरेपछि रुपन्देहीको सिद्धार्थनगर र सैनामैना नगरपालिकामा शहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्रवद्र्धन परियोजना सुपर टु शुभारम्भ भएको छ ।
स्वीस रेडक्रसको सहयोगमा सञ्चालित परियोजना दुवै नगरपालिकासँग नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच परियोजनाका गतिविधि, सहकार्य र कार्यान्वयनका विषयमा छलफल गरी सम्झौता–पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मा, रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्याय, दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, विपद् फोकल पर्सन, शाखा प्रमुख, रेडक्रसका प्रतिनिधि तथा कर्मचारीहरूको सहभागीता थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको कार्यक्रम संयोजक पल्लवी सिंह, स्विस रेडक्रसका प्रतिनिधि घनश्याम सापकोटा र जिल्ला परियोजना अधिकृत कृष्ण मल्लले परियोजनाका उद्देश्य तथा आगामी गतिविधिबारे सहजीकरण गर्नुभएको थियो ।
सुपर २ परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनसम्बन्धी गतिविधि सम्बन्धित स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा सहलगानीमा सञ्चालन गरिनेछ । दुईवर्षे परियोजनाले स्थानीय तहको विपद् पूर्वतयारी क्षमता अभिवृद्धि तथा समुदायको उत्थानशीलता प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ
यसैबीच रुपन्देही रेडक्रसले विभिन्न गतिविधि र कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताएको छ । हालै रेडक्रस रुपन्देही शाखाले आइएफआरसीको सहयोगमा सिद्धार्थनगर नगरपालिकालाई शुद्ध पिउनेपानीको व्यवस्था गरिदिएको शाखा सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो । रेडक्रस रुपन्देही शाखाले हाल डेंगु सिजनको समयमा जनचेतनामूलक अभियान पनि सञ्चालन गरेको सभापति उपाध्यायले बताउनुभयो ।
रेडक्रस रुपन्देहीले रक्तदान कार्यक्रमबाट रगत संकलन गरी विभिन्न व्यक्ति, संस्था तथा पालिकास्तरमा समेत उपलब्ध गराउँदै आएको छ । नेपाल रेडक्रस रुपन्देहीले तातो हावाको लहर लु बाट बच्ने उपायका बारेमा पनि अभियान चलाइरहेको छ ।








