भैरहवा, ४ भदौ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले साउन महिनाभर अपराध अनुसन्धान, शान्ति सुरक्षा सुदृढीकरण तथा राजस्व चुहावट नियन्त्रणमा उच्च सक्रियता देखाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ । यस अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका १८८ वटा मुद्दा दर्ता हुनुका साथै २ करोड २५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका भन्सार छली तथा अवैध मालसामान बरामद गरिएको छ ।
रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीका अनुसार दर्ता भएका १८८ मुद्दामध्ये संगठित तथा आर्थिक अपराधका ८१, ज्यानसम्बन्धी ३५, आत्महत्यासम्बन्धी २६, सामाजिक अपराधका १२, महिला तथा बालबालिकासम्बन्धी १०, विविधतर्फ १२ तथा चोरी र सवारी दुर्घटनासम्बन्धी ६÷६ वटा रहेका छन् । यसै महिना चालु मुद्दाका १५९ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ।
फैसला कार्यान्वयनमा ठूलो सफलता
अदालती फैसला कार्यान्वयनतर्फ वर्षौंदेखि फरार रहेका ४९ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरूबाट १७ लाख ९१ हजार ३५० रुपैयाँ जरिवाना असुल हुनुका साथै १२ वर्ष ६ महिना ११ दिन कैद सजाय कार्यान्वयन गराइएको छ ।
लागूऔषध, हतियार र हाइ–टेक अपराध नियन्त्रणः
लागुऔषध नियन्त्रणतर्फ १८ मुद्दामा २५ जना कारोबारी पक्राउ परेका छन् । उनीहरूको साथबाट १४ किलो ३६८ ग्राम गाँजा, ३३ ग्राम २५८ मिलिग्राम ब्राउन सुगर, २१० ग्राम चरेश, ५५६ एम्पुल प्रतिबन्धित इन्जेक्सन र ३९५ ट्याब्लेट बरामद भएको छ ।
त्यसै गरी साउन महिनामा अवैध रिभल्भर र गोलीसहित हतियारधारी, महिलाहरूको सुनको सिक्री लुटपाट (स्न्याचिङ) गर्ने ५ सदस्यीय गिरोह (बा १९ च ४३७७ स्कार्पियो गाडीसहित) र चिनियाँ सीमकार्डमार्फत अवैध भीओआईपी (कल बाइपास) सञ्चालन गर्ने गिरोहका सञ्चालकलाई समेत अत्याधुनिक उपकरणसहित नियन्त्रणमा लिइएको छ ।
नागरिक सेवा र घरेलु हिंसा समाधान
सामाजिक सुरक्षा र नागरिक सेवातर्फ प्रहरी कार्यालयमा परेका ६८४ प्रत्यक्ष उजुरीमध्ये ६६२ वटा (९६.७ प्रतिशत) फर्चोट भएका छन् । घरेलु हिंसासम्बन्धी ८५ उजुरीमध्ये ५० वटामा दुवै पक्षबीच मेलमिलाप गराइएको छ भने हराएका ११७ नागरिकमध्ये ५८ जनालाई सकुशल फेला पारी परिवारको जिम्मा लगाइएको छ ।
एसपी शाहीले खुला सीमानाको चुनौतीका बाबजुद प्रहरीको चौतर्फी निगरानीले रूपन्देहीमा अपराध नियन्त्रण, राजस्व संरक्षण र नागरिक सुरक्षा निकै बलियो बनेको बताउनुभयो ।








