भैरहवा (रुपन्देही) — रुपन्देहीको सीमावर्ती क्षेत्रबाट सुरक्षाकर्मीको संयुक्त टोलीले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको लत्ताकपडा र ढुवानीमा प्रयोग भएको कार नियन्त्रणमा लिएको छ।
सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटस्थित सडक खण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लालबहादुर के सी टोलीले उक्त सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक (DSP) गोपिकृष्ण भट्टराई र नेपाल प्रहरीका प्रहरी निरीक्षक (Inspector) हरिराम डाँगीको नेतृत्वमा खटिएको सुरक्षा टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१०३२ च ९३८५ नम्बरको कारलाई शंकास्पद अवस्थामा रोकेर चेकजाँच गर्ने प्रयास गरेको थियो।
सुरक्षाकर्मीलाई देख्नासाथ सवारी चालक कार सडक छेउमै अलपत्र छोडेर फरार भएका थिए। त्यसपछि गरिएको खानतलासीमा कारभित्रबाट बिल भर्पाई नभएको करिब १ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको अवैध लत्ताकपडा फेला परेको प्रहरीले जनाएको छ।
ढुवानीमा प्रयोग गरिएको अन्दाजी ३० लाख रुपैयाँ मूल्य बराबरको कारसहित बरामद सम्पूर्ण सामानको कुल मूल्याङ्कन ३१ लाख ४५ हजार ५०० रुपैयाँ गरिएको छ।
जफत गरिएका लत्ताकपडा र कारलाई आवश्यक कानुनी कारबाही तथा भन्सार ऐन अनुसार प्रक्रिया अगाडि बढाउन भैरहवा भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ। फरार चालकको खोजी तीव्र पारिएको छ।








