भैरहवा, ११ भदौ :रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढीप्रभावित क्षेत्रका नागरिकहरूको राहत, उद्धार तथा पुनर्निर्माणका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने औपचारिक निर्णय गरेको हो।
नगरपालिकाले संस्थागत रूपमा २५ लाख रुपैयाँ सहयोग गर्नुका साथै जनप्रतिनिधिहरूले समेत आफ्नो सेवा सुविधावापतको रकम कोषमा उपलब्ध गराउने निर्णय गरेका छन्। जसअनुसार नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीले १/१ महिनाको सेवा सुविधा, वडाअध्यक्षहरूले पाँच दिनको, कार्यपालिका सदस्यहरूले तीन दिनको र वडा सदस्यहरूले दुई दिन बराबरको सेवा सुविधा रकम राहत कोषमा जम्मा गर्नेछन्।
विपत्तिको यस विषम परिस्थितिमा नगरपालिका तथा वडा कार्यालयहरूबाट सञ्चालन हुने विभिन्न औपचारिक कार्यक्रम कटौती गरिएको छ। उद्धार तथा राहत कार्यमा ऐक्यबद्धता जनाउन नगरपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूबाट आयोजना गरिने आसन्न हरितालिका तीज लगायतका कार्यक्रमहरू रद्द गरी ती कार्यक्रमका लागि विनियोजित सम्पूर्ण बजेट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरिएको नगरप्रमुख खाँले जानकारी दिनुभयो।
विपद्को यस कठिन घडीमा हामी सबै एकजुट हुनुपर्छ। त्यसैले नगरबासीहरूलाई पनि यस वर्ष तडकभडकका साथ हरितालिका तीजका कार्यक्रम नगरी विपद् व्यवस्थापन र पीडितको उद्धारमा आ-आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्न हार्दिक अपिल गर्दछौं,’ नगरप्रमुख खाँले भन्नुभयो।
साथै, बाढीप्रभावित क्षेत्रमा परी हालसम्म सम्पर्कविहीन हुनुभएका आफ्ना नगरबासीका घरपरिवार तथा आफन्तहरूलाई तुरुन्त नगरपालिकाको सम्पर्क महाशाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पुगेको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति सिद्धार्थनगर नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। ‘बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा नगरपालिका परिवारकातर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै बाढीमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ नगरप्रमुख खाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।








