देशलाई जोगाउने जिम्मेवारी राप्रपाको काँधमा : अध्यक्ष लिङ्देन
भैरहवा, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अब नेपाली जनता र देशलाई जोगाउने जिम्मेवारी राप्रपाको काँधमा आएको बताउनुभएको छ । उहाँले राप्रपाको सफलता–असफलता एउटा पार्टी र नेतासँग नभई देशकै सफलता र असफलतासँग जोडिएको दावी गर्नुभयो ।
राप्रपा रुपन्देहीको सातौं जिल्ला अधिवेशनलाई आइतबार भैरहवामा उद्घाटन गर्नुहुँदै अध्यक्ष लिङ्देनले राप्रपा नयाँ ढंगले आयो भन्ने सन्देश दिनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा बलियो शक्ति निर्माणको जिम्मेवारी पनि आफूहरुले निर्वाह गरिरहेको बताउनुभयो ।
जेनजी आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि जनताको मन शान्त हुन नसकेको उहाँले बताउनुभयो । उहाँले अहिले देश ठूलो र अँध्यारो सुरुङभित्र पसेको जस्तो देखिएको उल्लेख गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका लिङ्देनले अहिले सरकारमा जाने कि नजाने भन्ने राप्रपाको प्राथमिकताको विषय नै नभएको स्पष्ट पार्नुभयो । अहिले राप्रपा कुनै पनि सत्ताकेन्द्रीत गतिविधिमा सामेल नहुने भन्ने पार्टीको स्पष्ट निर्णय रहेको उहाँले सुनाउनुभयो ।
बागमती प्रदेश सरकारमा राप्रपाका सांसद्हरु सहभागी भएको विषयमा उहाँले पार्टीको निर्देशनविपरीत काम गरे पार्टी कसरी चल्छ भन्दै प्रश्न गर्नुभयो । ‘संसदीय व्यवस्थामा पार्टीका सांसद्हरुले पार्टीको निर्देशन पालना नगर्ने हो भने दलीय व्यवस्था कसरी चल्छ ?’ उहाँले भन्नुभयो ।
आफूले राप्रपाको नेतृत्व सम्हालेपछि पार्टीलाई पहिलो, दोस्रो बनाउन नसके पनि अध्यक्षको कुनै निर्णयका कारण नेता–कार्यकर्ताले शिर झुकाउन नपरेको उहाँको भनाइ छ । ठीक ढंगले काम गर्ने हो भने निराश हुनु नपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै राप्रपाका सहायक महामन्त्री तथा प्रतिनिधि सभा सदस्य ताहिर अली भाटले गत प्रतिनिधि सभा निर्वाचन अघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न सकेको भए यस्तो हालत नहुने बताउनुभयो । उहाँले रुपन्देहीमा राप्रपा बलियो शक्तिको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा राप्रपाका केन्दीय सदस्य ध्रुव रायमाझी, तोयानाथ लम्साल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, राप्रपा पश्चिम नवलपरासीका अध्यक्ष रामभवन यादव, रुपन्देही जिल्ला सचिव बलराम शर्मा, रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष माधव प्रसाद रिमाल, तिलोत्तमा नगरपालिका अध्यक्ष चेतनारायण कंडेल, नेता अजय कुमार गुप्ता लगायतले बोल्नुभएको थियो ।
राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, जिल्ला सदस्य मुक्तिनाथ यादव (भोला) को स्वागत तथा सह–सचिव शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।








