Logo

३१ भाद्र २०८३, बुधबार

  • Uncategorized
  • बाढी प्रभावित पत्रकारको साथमा लुम्बिनी प्रेस क्लब : १ लाख रुपैयाँ आर्थिक सहयोगको निर्णय

बाढी प्रभावित पत्रकारको साथमा लुम्बिनी प्रेस क्लब : १ लाख रुपैयाँ आर्थिक सहयोगको निर्णय

बाढी प्रभावित पत्रकारको साथमा लुम्बिनी प्रेस क्लब : १ लाख रुपैयाँ आर्थिक सहयोगको निर्णय

१७ भाद्र २०८३, बुधबार १४:२०
१७ भाद्र २०८३, बुधबार १४:२०

१७ भदौ ।
रसुवा, नुवाकोट, गोरखा तथा धादिङ लगायतका जिल्लामा आएको भीषण बाढी–पहिरोबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको खोज, उद्धार तथा परिवारजनलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले लुम्बिनी प्रेस क्लबले १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

क्लबको मंगलबार बसेको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका सञ्चारकर्मीहरूको तत्काल खोज तथा उद्धारका साथै क्षतिग्रस्त सञ्चारमाध्यमहरूलाई आवश्यक राहत एवं सहयोग उपलब्ध गराउने निर्णय गरेको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो।

उपाध्यक्ष बडुवालका अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा प्रेस काउन्सिल नेपालसँग प्रत्यक्ष समन्वय गरी उक्त सहयोग रकम प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। यसका साथै बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन अवस्थामा रहेका पत्रकारहरूको खोजी तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न क्लबले सरकारसँग जोडदार माग गरेको छ।

क्लबका महासचिव प्रकाश न्यौपानेले प्राकृतिक विपद्को यस कठिन घडीमा समाचार संकलनमा खटिने पत्रकार तथा स्वयं सञ्चारगृहहरू नै नराम्ररी प्रभावित भएकाले उनीहरूको भौतिक तथा पेसागत सुरक्षालाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो। “उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सरकार र सम्बन्धित सम्पूर्ण निकायहरूसँग हामी अपिल गर्दछौं,” महासचिव न्यौपानेले भन्नुभयो।

यसैबीच बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पत्रकार तथा मिडिया हाउसहरूलाई आवश्यकता अनुसार सबै प्रकारका सहयोग पुर्‍याउन क्लब पूर्ण रूपमा तयार रहेको कोषाध्यक्ष विष्णु भट्टराईले स्पष्ट पार्नुभयो।

सहयोग कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन लुम्बिनी प्रेस क्लबका सह–कोषाध्यक्ष रविन्द्र गुप्ताको संयोजकत्वमा विशेष सहयोग समिति गठन गरिएको छ। क्लबले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सबै नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud