रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको राहत एवं पुनर्स्थापनाका लागि रुपन्देहीको एक मदरसाले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहरास्थित मदरसा कादरिया मिस्बाहुल ओलुमले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५९ हजार ४ सय ३० रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

मदरसामा कार्यरत शिक्षकहरू तथा स्थानीय मुस्लिम समुदायको संयुक्त पहलमा स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम सरकारी उद्धार कोषमा दाखिला गर्न लागिएको मदरसाका शिक्षक मौलाना जलाउद्दीन खाँले जानकारी दिनुभयो । बाढीका कारण जनधनको ठूलो क्षति व्यहोरेका नागरिकलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले यो सहयोग जुटाइएको उहाँको भनाइ छ ।

विपद्को समयमा पीडित दाजुभाइ दिदीबहिनीलाई ढाडस दिनु सम्पूर्ण नागरिकको कर्तव्य भएको उल्लेख गर्दै मौलाना खाँले भन्नुभयो, “संकट र विपद्को यस विषम घडीमा हामी पीडितहरूको दुःखमा साथ छौं । हामी अन्य सम्पूर्ण मनकारी महानुभाव तथा सामाजिक संघसंस्थाहरूलाई पनि बाढीप्रभावितको उद्धार र सहयोगमा अगाडि आउन हार्दिक अपिल गर्दछौं ।”
यसैबीच, प्राकृतिक विपत्तिका बेला मदरसा तथा मुस्लिम समुदायको तर्फबाट दर्शाइएको यस मानवीय तत्परताको स्थानीय स्तरमा उच्च प्रशंसा भएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरका जनसम्पर्क सल्लाहकार मोहम्मद अली (दोगहरा) ले विपद्को घडीमा मदरसाले गरेको यो सहयोग अत्यन्तै सराहनीय र सामाजिक सद्भावको बलियो उदाहरण भएको बताउनुभयो ।








