भैरहवा, १८ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिकाले गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारहरूको उद्धार तथा पुनःस्थापनाका लागि २६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको विपद् व्यवस्थापन कोष, जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीहरूको तलब कट्टा गरी संकलन गरिएको कुल २६ लाख ४ सय ९८ रुपैयाँ ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवका अनुसार गाउँपालिका विपद् व्यवस्थापन कोषबाट ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, जनप्रतिनिधिहरू तर्फबाट अध्यक्ष यादवले व्यक्तिगत रूपमा ३५ हजार ६१९, उपाध्यक्ष शिवकान्ती हरिजनले १५ हजार, ७ जना वडाध्यक्षहरूबाट प्रतिव्यक्ति १० हजारका दरले ७० हजार, ६ जना कार्यपालिका सदस्यहरूबाट प्रतिव्यक्ति ५ हजारका दरले ३० हजार र २२ जना वडा सदस्यहरूबाट प्रतिव्यक्ति ३ हजारका दरले ६६ हजार रुपैयाँ योगदान गरेका छन् ।
कर्मचारी तथा शिक्षकहरूको ऐक्यबद्धता विपद्को यस घडीमा गाउँपालिकाका कर्मचारीहरूले पनि मन खोलेर सहयोग गरेका छन् । अधिकृतस्तरका कर्मचारीहरूको ७ दिन, सहायकस्तरका कर्मचारीहरूको ५ दिन र सहयोगीस्तरका कर्मचारीहरूको २ दिनको पारिश्रमिक कट्टा गरी कुल ७ लाख ७५ हजार ४९८ रुपैयाँ जुटाइएको छ ।
यसैगरी, सामुदायिक विद्यालयका माध्यमिक तहका शिक्षकहरूको ७ दिन, आधारभूत तहका शिक्षकहरूको ५ दिन तथा गाउँपालिका अनुदान, बालविकास र अन्य शिक्षक/कर्मचारीहरूको २ दिनको तलब गरी ११ लाख ५८ हजार ३८१ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
अध्यक्ष यादवले भन्नुभयो, “बेपत्ता एवं अलपत्र परेकाहरूको शीघ्र खोज तथा उद्धार गरी विपद्मा परेका नागरिकलाई समुदायमा पुनःस्थापना गर्न नेपाल सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोगका लागि अपिल गरेको थियो । सोही सन्दर्भमा रोहिणी गाउँपालिकाका परोपकारी संघ–संस्था र नागरिकहरूलाई समेत हातेमालो गर्न अनुरोध गर्दै गाउँपालिकाको तर्फबाट यो सहयोग गर्ने निर्णय गरेका हौँ ।”
गाउँपालिकाको यस उदाहरणीय कदमको स्थानीय स्तरमा चौतर्फी प्रशंसा भइरहेको छ








