नागरिकलाई राज्यको प्रशासनिक सेवा घरदैलोमै सहज, सुलभ र छिटोछरितो उपलब्ध गराउने पवित्र उद्देश्यका साथ मेरो निर्वाचन क्षेत्र:४ अन्तर्गत मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालयहरूको स्थापना गरिएको तर अत्यन्त दुःख कार्यालय स्थापना भए तापनि आवश्यक अधिकृत स्तरका कर्मचारी खटाउन सरकार असमर्थ भएको छ।
अधिकृतको दरबन्दी रिक्त हुँदा कर्मचारी नपठाउँदा यी कार्यालयहरू विगत ३ देखि ६ महिनादेखि लगभग पूर्ण रूपमा बन्द रहने गरेका छन्। कार्यालय खुल्ने र बन्द हुने ठेगान नहुँदा स्थानीय जनताले जग्गा पास, नामसारी, अंशबन्डा, नागरिकता तथा राहदानी जस्ता आधारभूत सेवा लिनबाट वञ्चित भई चरम सास्ती खेप्नुपरेको छ। सामान्य कामका लागि पनि जनताले साविककै सदरमुकाम धाउनुपर्ने, अत्यधिक आर्थिक व्ययभार बेहोर्नुपर्ने र महिनौँसम्म कार्यालयको ढोका कुरेर बस्नुपर्ने लज्जास्पद अवस्था विद्यमान छ।
यसर्थ, म यस गरिमामय सदनमार्फत नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल यी कार्यालयहरूमा अधिकृतको पदपूर्ति गरी जनतालाई सास्तीबाट मुक्ति दिन र रोकिएका सम्पूर्ण सेवा अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु।








