भैरहवा, १९ चैत । आँखादान सम्बन्धमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीयमयस), लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवा र नेपाल आँखा बैंक (तिलगंगा आँखा अस्पताल), काठमाडौंबीच त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौता बमोजिम अब कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो स्वेच्छाले आँखाको नानी कोर्निया) दान गर्न चाहेमा त्यो सुविधा युसीयमयस भैरहवामा गर्न सक्नेछन् ।
आँखादान महादान’ भएकोले यस प्रकारको दानबाट दृष्टिबिहीन व्यक्तिलाई नयाँ जीवन तथा उज्यालो संसार देखाउने एउटा महान कार्य पनि हो । यो कार्य मानिसको मृत्युपछि मात्र गरिने, आँखाको पूरै डल्लो दान नभइ नानी मात्र दान गर्ने प्रक्रिया हो र आँखादान गर्दा अनुहार कुरुप हुँदैन । यस प्रकारको दान जुनसुकै उमेर समुह, लिंग वा रगत समूह मात्र नभइ चश्मा लगाएका, मोतीबिन्दु वा मधुमेह भएका व्यक्तिले पनि आँखा दान गर्न सक्छन् ।








