८ गते, माघ ,गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दा, भिक्षुहरू, व्यवसायीहरू तथा मजदुरहरूले लुम्बिनी विकास कोषको मनपरीतन्त्रविरुद्ध आवाज उठाएका छन् । कोषले विभिन्न बहानामा आफूहरूलाई प्रताडित गरेको र वर्षौंदेखि गर्दै आएको व्यवसाय तथा धार्मिक गतिविधिहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाउँदै उनीहरूले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ताले स्थानीयहरूको मागलाई बेवास्ता गरिए प्रतिकारमा उत्रिने चेतावनी दिए । गुप्ताका अनुसार, कोषका पदाधिकारीहरू धेरैजसो बाहिरबाट आउने गरेका छन् भने यहाँका योग्य व्यक्ति तथा वर्षौंदेखि पेसा–व्यवसाय गर्दै आएका स्थानीयहरू पीडित बन्दै गएका छन् ।

राजकीय बौद्ध विहारका भिक्षु सागर धम्मले पनि कोषको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे । उनले धर्मस्वामी महाराज बुद्ध विहार र राजकीय बुद्ध विहार भत्काउन खोजिएको तथा स्थानीयहरूले वर्षौंदेखि मुण्डन गर्दै आएको स्थललाई सार्न खोजिएको बताए । उनले भने, “माला व्यवसायीहरूलाई विस्थापित गर्न खोजिएको छ भने आध्यात्मिक र धार्मिक गतिविधिहरू पनि प्रभावित भएका छन् । मनपरी हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं ।”
स्थानीयहरूका अनुसार, कोषले जथाभावी रूपमा ट्याक्सी पार्किङ र माला पसलहरूलाई व्यवस्थित गर्ने बहानामा अन्यत्र सारेको छ । पछिल्लो समयमा सारेको ठाउँबाट पुनः विस्थापन गर्न खोज्दा उनीहरूको व्यवसायमा ठूलो असर परेको छ । वर्षौंदेखि हामीहरूले यो क्षेत्रमा योगदान दिँदै आएका छौं, तर कोषले हाम्रा पुर्खाहरूको योगदानलाई बिर्सेर स्थानीय जनभावनासँग खेलवाड गरेको छ,” एक व्यवसायीले गुनासो गरे । हाल चार नम्बर गेटभित्र माला व्यवसाय र ट्याक्सी पार्किङ सञ्चालन हुँदै आएको छ, तर कोषले यसलाई पनि व्यवस्थापनको नाममा सार्ने तयारी गरेको स्थानीयहरूको दाबी छ ।

लुम्बिनी क्षेत्रमा लामो समयदेखि कोष र स्थानीयहरूबीच विवाद चल्दै आएको छ । कोषले लुम्बिनीभित्रको शान्ति कायम गर्न तथा पर्यटकहरूलाई सुविधा दिन व्यवसाय र पार्किङस्थलहरू व्यवस्थापन गर्न लागेको जनाएको छ । तर स्थानीयहरूले आफूहरूलाई बेवास्ता गरेर पर्यटक नआउने ठाउँमा सार्ने गरिएको आरोप लगाउँदै आएका छन् । यसले गर्दा व्यवसायीहरूको जीविकोपार्जनमा समस्या परेको उनीहरूको भनाइ छ ।
पत्रकार सम्मेलनमा सहभागी अन्य व्यवसायीहरूले पनि कोषको यो कार्यशैलीले आफूहरूलाई विभिन्न बहानामा विस्थापित गर्न खोजेको बताए । उनीहरूले कोषका पदाधिकारीहरूसँग आफ्ना मागहरू सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । लुम्बिनी विकास कोषबाट भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
यो घटनाले लुम्बिनी जस्तो धार्मिक तथा पर्यटकीय महत्वको स्थलमा स्थानीयहरूको अधिकार र योगदानलाई सम्मान गर्नुपर्ने आवश्यकता उजागर गरेको छ । स्थानीयहरूको आक्रोशले स्थिति तनावपूर्ण बन्न सक्ने देखिएको छ ।








