Logo

१९ कार्तिक २०८३, बुधबार

  • Uncategorized
  • तिहारमा सुनसान हुने भैरहवालाई गुञ्जयमान बनाउन ‘युनिक दीपावली फेष्टिवल’, सीमापार भारतबाट समेत दर्शक आउने

तिहारमा सुनसान हुने भैरहवालाई गुञ्जयमान बनाउन ‘युनिक दीपावली फेष्टिवल’, सीमापार भारतबाट समेत दर्शक आउने

तिहारमा सुनसान हुने भैरहवालाई गुञ्जयमान बनाउन ‘युनिक दीपावली फेष्टिवल’, सीमापार भारतबाट समेत दर्शक आउने

१९ कार्तिक २०८३, बुधबार १७:४४
१९ कार्तिक २०८३, बुधबार १७:४४

भैरहवा (रुपन्देही) —
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालीहरूको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत लक्ष्मी पूजाका दिन (कात्तिक २२ गते) रुपन्देहीको भैरहवामा भव्य रूपमा ‘११ औं युनिक दीपावली फेष्टिवल’ आयोजना हुने भएको छ। विगत १९ वर्षदेखि भैरहवामा साउन्ड तथा म्युजिक व्यवसाय सञ्चालन गर्दै आएको प्रतिष्ठित व्यावसायिक संस्था युनिक साउन्डले उक्त फेस्टिभलको आयोजना गर्न लागेको हो।

बुधबार भैरहवामा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत युनिक साउन्डले फेस्टिभलको समग्र तयारी, उद्देश्य र मुख्य आकर्षणहरूबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै युनिक साउन्डका सञ्चालक रहिश खानले हिन्दुहरूको महान पर्व तिहारको पावन अवसरमा नगरवासीमा आपसी भाइचारा र सामाजिक सद्भाव बढाउन, बजारलाई आर्थिक रूपमा चलायमान बनाउन तथा स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ फेस्टिभललाई निरन्तरता दिइएको बताए।

सञ्चालक खानले यसअघि आफ्नै एकल लगानी र व्यवस्थापनमा १० वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। यस वर्षको ११ औं संस्करण अघिल्ला वर्षहरूको तुलनामा अझ भव्य र व्यवस्थित बनाइने उनको दाबी छ। खानका अनुसार यसपटकको फेस्टिभलमा रुपन्देही जिल्लाभरिका साथै छिमेकी जिल्लाहरू नवलपरासी, कपिलवस्तु तथा सीमावर्ती भारतीय सहरहरूबाट समेत गरी करिब ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ। कार्यक्रम सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ।

कार्यक्रम सञ्चालनका लागि स्थानीय प्रशासन, सिद्धार्थनगर नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट विधिवत् अनुमति लिइसकिएको छ। ‘ट्राफिक आवागमनलाई असर नपर्ने गरी सडकको एक किनारामा आधुनिक स्टेज निर्माण गरिनेछ भने पूरै सडकलाई आकर्षक विद्युतीय बत्तीले सजाएर झकिझकाउ बनाइनेछ,’ सञ्चालक खानले भने, ‘फेस्टिभलमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको नृत्य, गायन, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। सम्पूर्ण संस्कृतिलाई सम्मान गर्दै स्थानीय प्रतिभालाई उच्च मञ्च प्रदान गर्नु हाम्रो मुख्य ध्येय हो।’

यस वर्ष पनि दर्शकहरूलाई विशेष मनोरञ्जन दिलाउन देशकै चर्चित राष्ट्रिय कलाकारलाई आमन्त्रण गरिएको तर विगतका वर्षझैं यसपटक पनि ती कलाकारको नामलाई ‘सरप्राइज’का रूपमा राखिएको आयोजकले जनाएको छ। ती कलाकारलाई लक्ष्मी पूजाको साँझ सिधै स्टेजबाट सार्वजनिक गरिने योजना रहेको छ।

कार्यक्रमलाई विगतदेखि नै समन्वय र ऐक्यबद्धता जनाउँदै आएको चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले तिहारका बेला भैरहवा प्रायः सुनसान देखिने पुरानो परम्परालाई चिर्दै सहरलाई जीवन्त र उल्लासमय बनाउन यो फेस्टिभल कोशेढुङ्गा सावित हुँदै आएको बताए। अध्यक्ष रोक्काले भने, ‘यसमा चेम्बरले ठूलो आर्थिक लगानी गर्नु नपरे पनि स्थानीय व्यवसायी रहिश खानको यो निस्वार्थ सामाजिक र सांस्कृतिक प्रयासलाई हामीले दिल खोलेर समन्वय र नैतिक सहयोग गरिरहेका छौं।’

आयोजकका अनुसार फेस्टिभलको मुख्य ध्येय केवल मनोरञ्जन मात्र नभई बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरलाई सफा, हरभरा, सौन्दर्ययुक्त र पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु पनि रहेको छ।










  • सम्बन्धित समाचार

    © 2025 All right reserved to nepalnewsroom.com  | Site By : Gyaneshwor Gaud